काठमाडौँ- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।
बुधवार काठमाण्डौमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताउनुभयो । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्नसक्ने क्षमता आफू भित्रबाट विकास गर्नु उद्यमशीलता भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौँ भन्ने कुरा आजको प्रमुख प्राथमिकताको विषय हो । उनीहरूलाई भविष्यको आशा कसरी जगाउन सक्छौँ । झन्डै नौ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ भन्ने आजको विषय त्यो हो । उद्यमशीलता आफू भित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तरनिहीत गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन ।’
पूर्वअर्थमन्त्री खतिवडाले परम्परागतरूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताउनुभयो । उहाँले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको उल्लेख गर्नुभयो ।
खतिवडाले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको 'इनोभेशन' अरूभन्दा फरक बन्न सक्नुपर्ने बताउनुभयो ।