काठमाडौं- उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् ।
बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभामुख राना मगरले व्यक्तिगत र पार्टीगतको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत भएको भन्दै त्यसबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी हुन् ।
उनले भनिन्‘ हरेक पत्रकारले तटष्ठ रहेर जनताको सामु सत्य कुरा ल्याईदिने र जनतालाई जनचेतना फैलाउँने खालको पत्रकारितामा कलम चलाउनुपर्छ । जनतालाई गुमराहमा राखेर होेईन व्यत्तिगत स्वार्थको लागि कुनै पार्टीको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत हो ।’
उनले देशमा प्रतिनिसभा बाहेकको अर्को सदन मिडिया भएको दाबी गर्दै सुशासन ,पारदर्शीता र जवाफदेहितामा ध्यान दिनु पर्ने टिप्पणी गरिन् ।
उनले भनिन्, ‘हाम्रो देशको एउटा सदन प्रतिनिधि सभा हो भने अर्को सदन मिडिया हो पत्रकार हुन् । सुशासनको अर्को नाम हो पत्रकारिता सुशासन, पारदर्शीता, जवाफदेहिता जस्ता हरेक कुरा पर्छन् यसमा ध्यान दिनुपर्छ ।’
उनले राजनीतिमा पहिलेदेखि जरा गाडेर बसेका कुसंस्कारहरुलाई तोड्न कठिन रहेको बताईन् । उपसभामुख मगरले महिला दिदी बहिनीहरुलाई राजनीतिमा, राट्रिय योजनामा र राष्ट्रिय बजेटमा चासो राख्न अनुरोध गरिन् ।