काठमाडौं- महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शीतामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने उल्लेख गरे ।
उनले भने “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण शर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ । इमान्दारिता र पारदर्शीताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ । विश्वसनीयता कसरी कायम गर्ने, पारदर्शीता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ ।”
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ ।