जनकपुरधाम- अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेकाले नै मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन्।
बिहीबार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले आर्थिक स्रोत पर्याप्तताको अभावमा यसपालि सबैका लागि चितबुझ्दो बजेट हुन नसकेको स्वीकार गरे। साथै मन्त्री महतले यस अवस्थालाई कोही कसैले पनि विभेदको रुपमा नलिन आग्रहसमेत गरे।
कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले एमालेले अनाहक बखेडा झिकेर संसदलाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणीसमेत गरे। मन्त्री महतले प्रतिपक्षीलाई पनि संसद् गतिहीन बनाउने अधिकार नभएको बताए।
संघीयता, संघीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकोले बखेडा छोडेर प्रक्रियामा आउन एमालेलाई आग्रह गरे।
सिरहामा पार्टीको जिल्ला सम्मेलनमा भाग लिन आएका अर्थमन्त्री डा महत जानकी मन्दिरमा पूजापाठ र दर्शनसमेत गरे।