काठमाडौं- प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्न संसदीय समितिमा नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।
बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप पनि लगाए।
आठ महिना भइसक्दासमेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने उनले बताए।
सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको उनको भनाइ छ। सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए।
अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए।
उनले काँग्रेस अहिले कम्युनिष्टहरूको पुच्छर भएको टिप्पणी गरे। नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको उनको तर्क छ।
‘सरकारले संसदीय समिति सभापति चयन गर्न नै चाहेको छैन, खास कुरा त्यो हो । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन । सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । उनले भने,‘अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन् । किनभने उहाँहरूलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी सुरुदेखि संसद विरोधी पार्टी हो । कुनै पनि कम्युनिष्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिष्ट प्रणालीमा संसद हुँदैन ।’
सांसद सिंहले कम्युनिष्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे।