काठमाडौं- नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रमप्रति उनको परिवारजनले आपत्ति जनाएको छ । गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको गुनासो गरेका छन् ।
परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्तिमा कार्यक्रमप्रति गम्भीर असहमति जनाएको छन् ।
उनीहरुले संस्थासँग भएको प्रदीप गिरिका अस्तु असली नभएको पनि आशंका गरेका छन् ।
‘लिखित र मौखिकरुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा पनि समितिका कञ्चन झा, रामपल्टन साह लगायतले नसुनेको र अस्तुको राजनीति गरिरहेको परिवारको आरोप छ । त्यो अस्तु उनीहरुले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा ठूलो प्रश्नचिन्ह उठेको छ । किनभने उहाँको अस्तु हामीसँग नै सुरक्षित छ ।’ उनीहरुले गिरिको आत्माको चीर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।
प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो ।