काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।
उनले भने ‘आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ, अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न, विद्युत व्यवस्थापन गर्न, विद्युत आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन् । ’
कार्यकारी निर्देशक घिसिङले आगामी १० बर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने ‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयन तर्फ जटिलता देखिन्छ ।’
सूचना प्रविधि तथा नीति तयार गरि संस्थाको सेवालाई अझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउने र प्रणालीलाई स्वचालित रुपमा सञ्चालन गर्ने कार्यलाई उच्च प्राथमीकता दिईने उनको भनाई छ ।