राष्ट्रिय- स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएको छ ।
झापाको बिर्तामोडमा आज शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताउनुभएको हो ।
सभापति लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउँदै राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने उल्लेख गर्नुभयो । ‘नागरिकका धेरै कुरा उठाउनु छ’, उहाँले भन्नुभयो, चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० गते अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।
सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईँलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।