काठमाडौं- नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा ज्ञवालीले असाध्यै प्रतिकुल अवस्थामा पनि प्रदीप गिरिले लोकतन्त्रप्रति आफ्नो निष्ठा डगमगाउँन नदिएको बताए । तर अन्य धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको उनको भनाइ थियो ।
उनले भने,‘जतिबेला लोकतन्त्र संकटमा पर्छ निकै स्थापित भनिएका मानिसहरुपनि आस्थाबाट डगमगाउँदा रहेछन् । हामीले नेपाली कांग्रेसका कयौं नेताहरु डगमगाएका देख्यौं । प्रदीप गिरि असाध्यै प्रतिकुल अवस्थामा पनि उहाँले लोकतन्त्रप्रति आफ्नो निष्ठा डगमगाउँन दिनुभएन ।’
गिरिको बौद्धिक क्षमतालाई शुत्रवद्ध गरेर त्यसलाई परिभाषित गर्न आवश्यक रहेको भन्दै उनले भने,‘नेपालको राजनीतिमा, नेपाली समाजमा र नेपालको बौद्धिक क्षमतामा प्रदीप गिरिको विचारलाई शुत्रवद्ध गर्नु, परिभाषित गर्नु सबै भन्दा महत्वपूर्ण कुरा हो ।’