काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेका छन् ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’
विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागि भएन ।