दाङ- पिठ्युमा झोला, एक हातमा लट्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको समय आजभोलि विद्यालयका बालबालिकासँग बित्छ ।
उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ शुरु गर्नुभएको हो । त्यही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्उ हाँले भन्नुभयो, बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।
घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ सालमा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियोु, उहाँले भन्नुभयो, जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।
उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो ।
परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छु, उहाँले भन्नुभयो, त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ । अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो ।
उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । उहाँ शुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ उहाँले भन्नुभयो, अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।
विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रधानाध्यापक घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताउनुभयो ।