काठमाडौं- नेपाल र भारतका कलाकारका चित्रकलाको प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद्को आयोजना र विपी कोईराला ईन्डिया नेपाल फाउन्डेशनको सहयोगमा आजदेखि सुरु भएको प्रदर्शनी काठमाडौंस्थित कला परिषद्को प्रर्दशनी कक्षमा सुरु भएको हो ।
नेपाल र भारतको चेन्नईका चोलामण्डल कलाकारहरुको सहकार्यमा सुरु भएको प्रदर्शनीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबराले नेपाली र भारतीय कलाहरूको गाउँ कला शिविर सह प्रदर्शनी आजदेखि १० दिनसम्म चल्ने जानकारी दिए ।
उनले यसपटकको प्रदर्शनमा धेरै पुराना कला र ग्रन्थहरुलाई पनि राखेको भन्दै नयाँ किसिमको काम गरेको पनि बताए । उनले भने, ‘धेरै पुराना कला र ग्रन्थहरु छन् तर त्यो बिग्रिदै गएको छ । त्यसको संरक्षणको दिशा तर्फ पनि हामी गएका छौ । नयाँ किसिमको काम गरेका छौ । पहिला कलाको मात्रै हुन्थ्यो भने अहिले सबै पुराना कलाहरुलाई पनि संरक्षण गर्ने कोशिसमा छौ । काठमाडौं नगरपालिकालगायत अन्य संस्थाहरुसँग पनि कुनै किसिमको सहकार्य गरेर काम गर्ने नीजि क्षेत्रको सहभागिता पनि महत्वपूर्ण भएको छ ।’
उनले नेपाल र भारतबीचको यो कलाकार आदानप्रदान कार्यक्रमले दुई मित्र राष्ट्रबीचको कलाकार र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँने भन्दै यस कार्यक्रमले नेपालको कलात्मक शीपलाई प्रकाश पार्नुको साथै भारतको कला र संस्कृतिलाई बुझ्न मद्दत गरेको बताए ।
यसले नेपाली कला र शिल्पको समग्र विकासका लागि पूर्वाधार विकास गर्न पनि प्रेरित र उत्प्रेरित गर्ने उनको भनाई छ । यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदुताबासका मिसन उपप्रमुख प्रशन्न श्रीवास्तवले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।