काठमाडौँ- नेपाल भेटेरिनरी एसोसिएशनको नेतृत्वमा विभिन्न सङ्घसंस्थाले पशु सेवा विभाग हरिहर भवन ललितपुरमा ताला लगाएका छन् ।
विभाग अन्तर्गतका कार्यालयहरुको बजेट शून्य रहेको अहिलेको अवस्थामा सेवा प्रवाह गर्न नसक्ने भन्दै विभिन्न १६ वटा सङ्घसस्थाले विभागमा अनिश्चितकालका लागि तालबन्दी गरेका हुन् ।
सरकारले आफूहरुका माग सम्बोधन नगर्दासम्म ताला नखुल्ने नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष एवं आन्दोलनका संयोजक डा.रामकृष्ण खतिवडाले बताउनुभयो । बजेट वक्तव्यबाट पशुपक्षी क्षेत्रका कार्यालयरनिकायहरुको बजेट कटौती गरी अहिले काम ठप्प हुने अवस्थामा पुर्याएको तथा पशुपक्षीजन्य महामारी, रोग नियन्त्रण, उपचार र राहत प्रदान गर्न सरकार गम्भीर नभएको विरोधमा आन्दोलन भइरहेको उहाँको भनाइ छ ।
शून्य बजेट रहेका कार्यालय र निकायमा तत्काल बजेटको व्यवस्था गर्न, लम्पी स्किन, अफ्रिकन स्वाइन फिवर र वर्ड फ्लुबाट प्रभावित किसानलाई तत्काल राहत कार्यक्रम ल्याउन, सङ्क्रामक रोग नियन्त्रणमा ध्यान दिन, हरेक पालिकामा कम्तीमा एक जना पशु चिकित्सक र हरेक वडामा पशु सेवा प्राविधिक पठाउने व्यवस्था गर्न उनीहरुको माग रहेको छ ।