काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।
आज बिहीवार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभयो । उहाँले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउनेमा प्रचण्डजीका र माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्प्रदायिक हिंसा भड्काउन खोज्नुभएको छ । नुवाकोटमा साँढे जुधाउने भन्ने खेल हुन्छ । ती साँढेको केही दुस्मनी नै छैन । भेटेको पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू नेपालीलाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् । नेपाली लड्नु हुँदैन । शासनमा बस्नेले यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’
अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफैँ संलग्न रहेको कुरा ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको दाबी गर्नुभयो । उहाँले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका ठाउँबाट अन्य व्यक्तिलाई भगाउन लागेको बताउनुभयो ।
ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताउनुभयो ।