काठमाडौं- साहित्यकार तुल्सी थापाको निधन भएको छ ।
मकवानपुरमा रहेर शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील ७८ वर्षीय थापाको शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
थापा निमोनिया, मधुमेह र रक्तचापसम्बन्धी समस्याबाट पीडित थिए।
शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य रचनामा विशेष योगदान गरेका थापाका दाना कविता संग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथा संग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् ।
थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवातसमेत गरेका थिए। भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका छन् ।
२००२ साल असोज ३ गते जन्मिएका थापाका २ छोरी, एक छोरा र श्रीमती छन् । उनको शनिबार बिहान ९ बजे चितवनको देवघाट धाममा अन्त्येष्टि गरिने पारिवारले जनाएको छ।