विराटनगर- मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा.प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् ।
झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइराला चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार रोकेर उनी हराएका हुन्। बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको उनले बताए।
स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए ।
डाक्टर कोइराला राती २ बजे कोशीको पुलमा आएको सिसी टिभि फुटेजमा देखिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको गोथाखोरको टोली र इप्रका रामपुरबाट सइको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको डिएसपी चौधरीले जानकारी दिए ।
सुनसरी प्रहरीका प्रमुख प्रभु ढकालले उदयपुरको प्रहरीसँगको समन्वयमा सुनसरी प्रहरीलेसमेत अहिले उनको खोजी कार्य गरिरहेको जानकारी दिए ।