काठमाडौँ- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आज सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताउनुभयो । उहाँले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो समितिमा अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौँ । मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ । यो समितिको कार्यक्षेत्र धेरै ठूलो छ । विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ । वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्त्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौँ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ । यो समिति सरकार विरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । सुन काण्डलगायतका सबै विषयमा छलफल हुन्छ ।’
खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले त्यहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्नेसमेत बताउनुभयो ।