काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारको फाईलहरु कुर्सी टिकाउनको लागि मात्र नखोलेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले उठाएका प्रश्नको जवाफ दिँदै उनले कुर्सी टिकाउनलाई मात्र नभएर जनतामा छाएको राजनीति प्रणालीमाथिको वितृष्णा चिर्न भ्रष्टाचारको फाइल खोलेको दाबी गरे ।
उनले भने,‘प्रश्नमा भनिए जस्तो सरकारका यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन । बरु देश र जनतामा राजनीति प्रणालीमाथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको कुरा स्थापित गर्न गरिएको छ ।’
उनले सबै भ्रष्टाचारको काण्डमा राज्यले दबाबरहित तरिकाले काम गरेकै कारणले अहिले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको दाबी गरे ।
उनले सरकारले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको दाबी गरे ।