काठमाडौं- लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।
कैलाली, गोदावारी गाउँपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेश बहादुर तिरूवालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-१० टिमाई पुल नजिक गोरु हटियाबाट लागूऔषध गाँजा २ किलो, तराजु १ थान, ढक ५ थान र सानो प्लाष्टिकको जिपर ब्याग २ सय थानसहित सोही ठाउँ बस्ने ३८ वर्षीय नवि मिया चुरौटेसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले चुरौटेको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मोरङ, सुन्दरहरैचा नगरपालिका-१० स्थित आर्जु होटेल एण्ड सेकुवा कर्नरबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय तक्सन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मकवानपुर, मनहरी गाउँपालिका-६ खयरघारीबाट लागूऔषध गाँजा २ किलो र नगद ५९ हजार रूपैयाँसहित सोही गाउँपालिका-६ नयाँबस्ती बस्ने २९ वर्षीय सन्तलाल लामालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना.३२ प २९५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो।
यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका-३ दमारबाट लागूऔषध गाँजा करिब १० किलोसहित सोही गाउँपालिका-९ ज्यामिरे बस्ने ३८ वर्षीय टेक बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।