काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ ।
आज शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो चीन भ्रमणमा कुराकानी गर्ने बताउनुभएको हो । उहाँले नेपाली भूमि नेपालको नक्सा नदेखाइएको विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापनी नसेमेटोको विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, त्यस बेलामा कुराकानी हुन्छ । यसबारेमा सरकार प्रष्ट हुँदै नागरिकलाई पनि प्रष्ट गर्नुपर्छ ।’
प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग बनाउनुपर्ने बताउनुभयो । उहाँले औपचारिक र संस्थागत रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अङ्ग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने जिकिर गर्नुभयो ।
सापकोटाले वर्तमान सत्तारूढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने दाबी गर्नुभयो । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको उहाँको भनाइ छ ।