काठमाण्डौ- नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम देश रहेको बताउनु भएको छ । अमेरिकन च्याम्बर्स अफ कमर्स (एमच्याम) को आयोजनामा हिजो काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले नेपालमा पछिल्लो समय ऊर्जा, प्रविधि र पर्यटन लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताउनुभयो।
एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ता बीच समन्वयकारी भूमिका खेल्न सक्ने बताउनु भयो। अन्तरक्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो ।
ऊर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम शुरू गरेको र अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको हेलनको भनाइ छ । हेलनले नेपालमा लगानीको वातावरण राम्रो र सहज रहेको पनि बताउनु भयो ।
कार्यक्रममा अमेरिकी राजदूत आर थम्सनले नेपालमा एमच्यामले अमेरिकी लगानिकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेको बताउनु भयो । कार्यक्रममा एमच्यामका अध्यक्ष अजित शाहले नेपालमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो। होलनले नेपालका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरिरहनुभएको छ ।
यस कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत आर थम्सन र दूतावासका पदाधिकारीहरू, यूएसएआईडीका पदाधिकारीहरू र एमच्यामका सदस्यहरूको सहभागिता थियो । एमच्याम अमेरिकामा विभिन्न क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी तथा व्यवसायीहरूको छाता सङ्गठन हो । यस संस्थाले नेपालमा अमेरिकी लगानी भित्र्याउन विशेष पहल गर्दै आएको छ।