काठमाण्डौ- नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु सरकारी कार्यालयको कर्तव्य हो । नागरिकबाट उठाएको करले चल्ने सरकारी कार्यालय नागरिकप्रति उत्तरदायी हुनुपर्छ । तर, नेपालका धेरै सरकारी कार्यालय आफैँ अशक्त र अव्यवस्थित छन् ।
सरकारी कार्यालयबाट नागरिकले सहज, सरल र छिटो छरितो सेवा पाउन मुस्किल छ । सरकारी कार्यालयहरु व्यवस्थित र चुस्त नभइदिँदा दिनहुँ नागरिकहरु सहजै सेवा लिनबाट वञ्चित हुनुपरेको छ।
काठमाण्डौकै सरकारी कार्यालयहरुको अवस्था हरिबिजोग छ । त्रिपुरेश्वरमा रहेको पशु सेवा व्यवसायी परिषद्को भवनभित्र वर्षेभेल पसेको छ भने रेडियो नेपाल परिसर झारपातले ढाकेको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था त्यस्तै छ । गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा सङ्ग्रहालयको अवस्था त्यस्तै नाजुक छ । सिंहदरबार अगाडि राखिएको तोपको अवस्था झनै दयालाग्दो छ । सरकारले सरसफाइ र व्यवस्थापनका लागि कर्मचारी पनि राखेको हुन्छ । तर, सरकारी कार्यालय वरपर फोहरको थुप्रो नै देखिन्छ ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक वडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड लगायतले सरकारी सम्पत्तिको दुरुपयोग र हेलचेक्र्याँइको तस्बिर देखाएको छ ।