खोटाङ- खोटाङको रावाबेसी गाउँपालिकाले राडीपाखी पेसा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ ।
पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यावसायिक विकासमा टेवा पुर्याउने लक्ष्यकासाथ गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको ५० थान चर्खा र १७० थान कोरेसो वितरण गरेको हो ।
भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो वितरण गरिएको रावाबेसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले बताउनुभयो ।
रावाबेसी गाउँपालिका–१ कुभिन्डे गोपिनीका राडीपाखी व्यवसायी महिलालाई पाँच थान चर्खा र १२ थान कोरेसो, रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलालाई छ थान चर्खा र १२ थान कोरेसो, रावाबेसी गाउँपालिका–५ दुवेकोलका महिलालाई नौ थान चर्खा र २६ थान कोरेसो र रावाबेसी गाउँपालिका–६ हौंचुरका राडीपाखी व्यवसायी महिलालाई ३० थान चर्खा र ४३ थान कोरेसो वितरण गरिएको छ ।
गाउँपालिकामा राडीपाखीको काम गरिरहेका १ सय ७० जना महिला व्यवसायीलाई एकरएक थान कोरेसो उपलब्ध गराइएको छ । चर्खा भने दुई तीन जनाले सामूहिक रुपमा चलाउन पाउनेगरी वितरण गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । राडीपाखीको काम गरिरहेका राई, भुजेल, मगरलगायतका समुदायका महिलालाई पनि चर्खा र कोरेसो वितरण गरिएको छ ।
विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने काम गर्दैआएका छन् । कतिपय गुरुङ परिवारले राडीपाखी बुनेर आएको आम्दानीबाटै घरखर्च टार्ने गरेका छन् । राडीपाखी व्यवसाय गुरुङ समुदायको नगद हात लाग्ने मुख्य पेसा हो । जिल्लाको हौंचुर पोखरी र चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुईपा, साब्रु, बाक्सिला लगायतका ठाउँमा बसोबास गर्ने गुरुङ समुदायले पुर्खादेखि चल्दैआएको पेसा अपनाउँदै आएका छन् ।