ललितपुर- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाईं (आरबी शर्मा) चयन भएका छन्।
संघको गत भाद्र १ र २ गते महाङ्काल गाउँपालिकामा भएको अधिवेशनबाट ४५ सदस्यीय जिल्ला सदस्यहरु चयन भएकोमा बाँकी पदाधिकारीको विषयमा टुंगो लगाउन अख्तियारी पाएको अध्यक्ष मण्डलले करिब २ साता लामो आवश्यक छलफल र संवाद पछि शर्माको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो।
संगठनको उपाध्यक्षमा सम्राटजंग केसी हुँदा सचिवमा विक्रम थापा र सहसचिवमा वीरेन्द्र घिसिङ र अमिन महर्जन चयन भए। यसैगरी अध्यक्ष मण्डलले कोषाध्यक्षमा सुदर्शन घिमिरे र संघको प्रवक्तामा रोकेश अवालेलाई छानेको छ।
युवा विज्ञ परिषदमा संजीव खड्का, साइवर सर्कल प्रमुखमा बुद्ध लामा तथा युथफोर्स विभाग प्रमुखमा राजीव अधिकारी पनि चयन भएका छन्।
यसैबीच, अध्यक्षको आकांक्षी रहेका निवर्तमान उपाध्यक्ष प्रविणजंग थापाले चुनाव नगरी सुटुक्क अध्यक्ष बनाउनु लोकतान्त्रिक अभ्यास नभएको प्रतिक्रिया दिएका छन्।
उनले फेसबुकमा स्टाट्स लेख्दै यदि हाम्रो सहनशीलता र संगठानिक अनुशासनलाई कमजोरी ठानेर अगाडि बढेमा आउने परिणाम जिम्मा पनि सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट धारणासमेत ब्यक्त गरेका छन्।