काठमाडौ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उहाँको भनाइ थियो ।
पार्टी निकट कर्मचारीहरूको सङ्गठन नेपाल निजामती कर्मचारी युनियनले आज मङ्गलवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले, ‘देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । काठमाण्डौका मेयरले पनि अराजक किसिमले बोल्नु हुँदैन । यसरी देश चल्दैन । यो कुराहरूलाई पार्टीले गम्भीर रूपले लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ ।’
नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टी निकट कर्मचारी सङ्गठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिनुभयो । उहाँले सङ्घीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गर्नुभयो ।