काठमाडौँ- हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज मङ्गलवार काठमाण्डौ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उहाँले बताउनुभयो । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनको बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताउनुभयो ।
सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ जानुभएको छ । उहाँहरूले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लैजान लागेका बेला काठमाण्डौको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुु भित्र लुकाएर ल्याइएको यो सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।