काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् ।
निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टी सांसद कमला पन्तले राजनीतिकै कारण मन्त्री फेरिने वित्तिकै सचिवहरू मन्त्रीको फुटबल बन्ने गरेको भन्दै उक्त समस्यालाई रोक्न सभापतिलाई आग्रह गरेकी थिइन् । साथै उनले राजनीति खराब कि निजामती कर्मचारी त्यसमा अध्ययन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
उनको भनाइलाई संकेत गर्दै सभापति देउवाले आफूसँग फूर्ति गर्ने प्रहरी अधिकृतलाई गृहमन्त्री हुँदा निकाली दिएको उदाहरणसमेत प्रस्तुत गरे ।
देउवाले भने, ‘म भर्खर गृहमन्त्री भएको थिए, एउटा पुलिस अफिसरले यी आउने जाने हुन् कति दिनका हुन् र ? गृहमन्त्रीहरू भोलि गइहाल्छन् नि भन्यो । म त जाउँला तँ चाहीँ कहिल्यै आउँदैनस् भनेर निकालि दिए । अरुले त्यही गर्नुपर्छ भनेको होइन । तर, मन्त्री भैसक्यो के गर्नुहुन्छ कुरा मिल्दैन भने भन्नुप¥यो ।’
नहुने कुरा कर्मचारीले गर्नुपर्छ भन्नेभन्दा पनि मन्त्रीका कुरालाई कर्मचारीले मान्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।
सभापति देउवाले भने, ‘नहुने कुराहरू गर्नुपर्छ भन्ने होइन तर साथसाथै मन्त्रीसँग के कुराले चित्त बुझेको छैन, उसित कुरा गर्नुप¥यो र मन्त्रीको कुरालाई पनि मान्नुपर्ने हुनसक्छ । यो आज मात्रको होइन संसारभरको झगडा हो ।’