काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको नेपाल पुलिस क्लब, भृकुटीमण्डपबाट उद्घाटन गर्दै उनले हरित दिगो विकासको नीति औपचारीक रुपमै आजदेखि व्यवहारमा कार्यान्वयन भएको बताए । मन्त्री बस्नेतले दिगो विकासको यात्रामा यो अभियान महत्वपूर्ण कोशेढुङ्गा भएको दाबी गरे ।
उनले भने, ‘यो अभियान दिगो विकासको यात्रामा नेपालको अर्को एउटा महत्वपूर्ण पाइला (माइलस्टोन) सावित हुनेछ ।’
त्यस्तै मन्त्री बस्नेतले विद्युतीय सवारी साधन विस्तारका लागि सरकारले दिनुपर्ने सहुलियत उपलब्ध गराउन र प्रवद्र्धनको अनुकूल वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पस्ट पारे ।
‘हामी इभी (इलेक्ट्रोनिक भेइकल) कम्पोनेन्टहरूको उत्पादनबारे पनि सकेसम्म यहीँ उत्पादन गर्न सकियोस् भन्ने चाहान्छौं । त्यसका निम्ति विद्युतीय सवारी साधनको प्रवद्र्धन र विस्तारका लागि सरकारले दिनुपर्ने सहुलियत र तयार गर्नुपर्ने अनुकूल वातावरण दुवैलाई जिम्मेवारीपूर्वक अगाडि बढाइराखेको छ । सरकारले यो क्षेत्रमा सार्थक पहल गरिराखेको छ । परिणाममुखी कामहरू सुरु भएका छन्, अझै थप परिणाममुखी भएको देख्न सक्नुहुने छ । यसलाई अभियानको रुपमा अगाडि बढाउने छौं,’ उनले भने ।
मन्त्री बस्नेतले निकट भविष्यमा यो भन्दा ठूलो सङ्ख्यामा चार्जिङ स्टेसनको निर्माण गर्नेगरी कार्य गरीरहेको जानकारी गराएका छन् ।