काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहारबाट कांग्रेस नसकिने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समय लिएर बोल्दै लेखकले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित भएर उभिएको पर्वत भएको टिप्पणी गरे।
‘मानिसले खुकुरी प्रहार गरेर कांग्रेस सकाउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाउँछु भन्नु एउटै हो।’ लेखकले भने, ‘कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित भएर उभिँदा राणाहरूले टाउको जुधाए, पंचायतले टाउको जुधाए, राजाले टाउको जुधाएको छ। पहाडसँग जुध्ने टाउकाहरू फुट्छन्। पहाड फुटेको इतिहास छैन।’
कांग्रेस, एमाले, माओवादीलगायतका संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरू पुराना हुन्, खराब छन्, भन्ने कृत्रिम भाष्य सिर्जना गरेर लोकतन्त्र समाप्त पार्ने कसैको चाहना भए त्यो दिवास्वप्न हुने उनले बताए।
उनले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।