काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले त्यो घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनुभयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाको सत्यरतथ्य रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीको सहमहामन्त्रीमाथिको आक्रमण हेर्दा आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै हो । म सिङ्गो पार्टीको तर्फबाट यो आक्रमणको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु । यस घटनामा संलग्न रहेकामाथि कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु । यो घटना सामान्य छैन । यो घटनाबारे संसद्लाई जानकारी गराउन म गृहमन्त्रीज्यूलाई आग्रह पनि गर्न चाहन्छु ।’
प्रमुख सचेतक लेखकले सरकारले यो घटनाबारे प्रतिनिधिसभाको अर्को बैठकमा नै संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभयो ।