काठमाडौं- एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।
उदयपुर, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
झापा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।