काठमाडौं- सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको मागलाई सम्बोधन गरेर मात्रै लप्सीफेदी सबस्टेशनको निर्माण कार्य अघि बढाउने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सो सबस्टेशन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
तत्काल निर्माण कार्य अघि बढाउने सन्दर्भमा उनले स्थानीयवासीको समस्या समाधानका लागि सरकारले प्रयास जारी राख्ने बताए।
तामाकोशी तथा सुनकोशी नदी र कोशीका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति लप्सीफेदीमा ४००-२२०-१३२-११ केभी सबस्टेशन निर्माण गर्न लागिएको हो।
सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट शुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदी सम्मको ४०० केभी प्रशारण लाइन जोडिनेछ। नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० के।भी। प्रशारण लाइन निर्माणको अन्तिम चरणमा छ।
लम्सीफेदी सबस्टेशनबाट भक्तपुरको चाँगुनारायण सम्मको १३२ केभी प्रशारण लाइन र सबस्टेशन निर्माणाधीन छन्। चाँगुनारायण १३२ के.भी. सबस्टेशन सम्पन्न हुने चरणमा छ।
सबस्टेशनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। मुआब्जा तथा क्षतिपूर्ति बापत् करिव ५० करोड रुपैयाँ वितरण गरिएको छ।