काठमाडौं- परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमती भएको बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझावको लागि आयोजित छलफलपछि उनले पूर्व परराष्ट्र मन्त्रीहरुसँग चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको भन्दै प्रधानमन्त्रीले प्राप्त सुझावहरुलाई महत्वपूर्ण रुपमा लिएको बताए ।
उनले भने, ‘पूर्व परराष्ट्र मन्त्रीहरुलाई आमन्त्रण गरेर चीन भ्रमणको बारेमा गम्भीर छलफल भएको छ । उहाँहरुले भ्रमणको समयमा गनुपर्ने आवश्यक तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्वपूर्ण सुझाव र सल्लाह दिनु भएको छ । त्यसको लागि आज उपस्थित सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिनु भएको छ र सुझावहरुलाई महत्वपूर्ण रुपमा लिएको छ । भ्रमणलाई सफल बनाउने बारेमा नेपालको सबै राजनीतिक तहमा सहमती भएको छ ।’
यस्तै, जनमत पार्टीको अध्यक्ष सिके राउतले पनि नेपालमा उद्योगहरु खोल्ने र त्यसबाट उत्पादन भएको वस्तु चीनले नै आफ्नोमाफर्त निर्यात गर्ने मोडेल बनाउँनु सुझाव दिएको भन्दै यसबाट स्थानिय तहमा रोजगारी सिर्जना हुने बताए ।
उनले भने, ‘चीनमा भएको मोडेलमा चीनले नेपालमा उद्योगहरु खोल्ने त्यसबाट उत्पादन भएको वस्तु भने चीनले नै आफ्नो माफर्त निर्यात गर्ने मोडेलमा बनाउँनु पर्ने सुझाव पनि दिएका छौ । यसले लोकल तहमा रोजगारी सिर्जना हुन्छ । कृषिमा भने रासायनिक मलहरुमा पनि आत्म निर्भर हुन सकोस यसले किसानलाई सहयोग हुन्छ भन्ने सुझाव पनि दिएका छौ ।’
उनले गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै त्यसको अनुभवको आधारमा नेपाललाई गरिबीमुक्त बनाउँन सहकार्य गर्नु पर्ने पनि बताए ।
उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले जनताले प्रत्यक्ष लाभ पाउने विषयहरु उठाउन आग्रह गरेको बताए ।
उनले भने, ‘रास्वपाको तर्फबाट लिखित रुपमा सात वटा बुदाँ दिएका छौ । अर्को नक्साको विषयलाई पनि चासोका साथ जानकारी गराएका छौ । जनताको थाहा पाउँने तहमा यसको बारेमा आफ्ना धारणा, देशको धारणा राख्नु पर्छ, बोर्डर खोल्ने विषयमा र महत्वपूर्ण कुरा भनेको भारत भ्रमणमा धेरै ठूलो टोली गयो भन्ने कुरा थियो त्यो विषयमा पनि सचेत हुनुपर्छ ।’