खोटाङ- खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएका छन् ।
भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोल–टोलमा आयोजना गरिएको घुम्ती शिविरबाट २ सय ४३ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, २ सय ९० जनाको स्वास्थ्य जाँच एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् । सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यकासाथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको बाँझेच्यानाडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो ।
टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलन सम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् । नागरिकको आवश्यकतालाई पहिचान गरी अन्य सेवाहरु पनि क्रमिक रुपमा टोलटोलबाटै प्रदान गरिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।