सुर्खेत । डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्ग तिम्ले बगर भेरी नदीमा भेटिएको उक्त शव मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको छ । केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएका थिए ।
मंगलबार भेटिएको शव मेजर पण्डितको हुन सक्ने आशंका गरिएता पनि हालसम्म सहि पहिचान भने हुन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए । घटनास्थलबाट उक्त शव जिल्ला अस्पताल दुनै ल्याइँदै गरेको उनले बताए । मेजर पण्डित भदौ १० गतेदेखि त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । त्यसैले पनि भेटिएको शव मेजर पण्डितको हो कि भन्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । यस विषयमा अनुसन्धान भइरहेको छ ।
३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १७ दिन पुगेको छ । मेजर पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका हुन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.