काठमाण्डौ- बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ ।
अहिले पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, हिजोको जस्तो तनाव नरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
हिजो बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको थियो । झडपमा परी ११ जना कैदीबन्दी र १० जना प्रहरी घाइते भएका थिए । घाइते भएका प्रहरीहरु सामान्य उपचार पछि काममा फर्किएका छन ।
यस्तै, घाइते भएका ११ मध्ये १० जना कैदीबन्दीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । एक जना भने डिस्चार्ज भएका छन् । हिजो झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए ।
बाल सुधार गृहभित्र के कारणले विवाद उत्पन्न भएको हो भन्ने खुलिसकको छैन । भक्तपुरको बाल सुधार गृहबाट बीरगञ्ज सारिएका बन्दीहरुको समूह र पहिल्यैदेखि त्यहाँ रहेका बन्दीहरुको समूहबीच विवाद भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान भइरहेको छ । गएको ४ गते भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जना कैदी बन्दीलाई वीरगञ्ज लगिएको थियो ।