जनकपुर- नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले, कामले नै सरकारको आयु निर्धारण गर्ने टिप्पणी गरे ।
बुधबार जनकपुर पुगेका खनालले, मोर्चा गठन लगायतका कुराले सरकारलाई प्रभाव नपार्ने दाबी गरे ।
उनले भने, ‘अहिले त कसैले सशंकित हुनुपर्ने आवश्यकता नै छैन । मोर्चाहरु निर्माण हुन्छन् कहिले विस्तार गर्छन्, कहिले खुम्चिन्छन पनि । कहिले गठबन्धन बन्छ, कहिले गठबन्धनको एउटा रुप हुन्छ कहिले अर्को रुप बन्छ, हंग पार्लियामेन्ट भएको बेलामा यो स्वभाविक हो । यसले सरकारलाई असर पार्ने होइन् । सरकार आफैंले राम्रा काम गर्छ कि गर्दैन,सरकारले सबैलाई समेटेर लान्छ कि लादैन त्यस कुराले चाहिँ सरकार टिक्छ कि टिक्दैन भन्ने कुराको निणर्य गर्छ ।’
संघीयताको प्रभावकारीताबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता खनालले संघियता नयाँ प्रयोगको चरणमा रहेकाले त्यो प्रभावकारी भयो र जनतालाई सेवा पुर्याउन सके रहने नत्र बोझ मात्रै हुने अवस्था आए संघीयता नटिक्ने धारणा राखेका छन् ।