काठमाण्डौँ- नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले म स्तब्ध भएको छु । अहिले सम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको र कुनै पनि राजनीतिक दल संग आबद्ध नभएको भएता पनि उहाँ मलाई अत्यन्तै मन् पर्ने नेता हुनुहुथ्यो ।
आज सम्म कुनै पनि नेताको निधन हुँदा नरोएको म उहाँको निधनको खबरले अत्यन्तै रोएको छू । विहान विहानैं उहाँको निधनको खबरले छाँगा बाट खसे जस्तै भएको थिएँ । आफ्नै परिवारको सदस्य आफ्नै अभिभावकको निधन भए जस्तै महसुस भएको छ । मान्छे मरेर गएपछि राम्रो हुन्छन् तर उहाँ साँच्चै जिउँदो हुँदा नै सबैको सर्वप्रिय र राम्रो नेता हुनुहुथ्यो ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार सँगै इमान्दार छवि बनाउनुभएका स्वः नेता सुवास नेम्वाङ जिल्लाबासीका लागि मात्र नभई देशकै लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो ।
अप्ठेरो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको समाधान गर्नुहुन्थ्यो । उहाँले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिका सबै जनप्रतिनिधिले सिक्न सक्नुपर्छ ।
नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको छ । उहाँको न्याय क्षेत्रमा पनि राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभएको थियो ।
उहाँको निधनले नेकपा एमालेलाई मात्र नभई मुलुकले नै एक असल राजनीतिज्ञ गुमाउन परेको छ । उहाँको निधनले नेकपा एमालेको मियो ढलेको छ, परिवारको अभिभावक गुमेको छ, घरको जग ढलेको छ, हरेक सांसद्ले आफ्नो अभिभावक गुमाउँन परेको छ । संसद्ले एक अनुभवी, असल र राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको छ ।
मानवता हराएको हाम्रो देशमा उहाँको निधन हुँदा राजतन्त्र मान्नेहरूले हाँस्दै ट्रोल बनाएको पनि देखियो । राजावादीहरुले गणतन्त्र र संविधान मान्दै मान्दैनन् । संविधान कार्यान्वयन नगर्नेहरुले मरेर गयो ठिक भयो भन्नु कुनै नौलो कुरा होईन ।
तर सुवास नेम्वाङलाई आफ्नो पार्टी भित्र मात्र नभई विपक्षी दलका धेरै राजनीतिज्ञले आफ्नो अभिभावकको रूपमा सम्मान गर्नु हुन्थ्यो । अझैं भनौं संसदमा नयाँ आएका सांसदले उहाँ बाट धेरै कुरा सिक्न बाँकी नै थियो । उहाँले सबै राजनीतिक दललाई सहजै रूपमा सहमति र सहकार्य गरेर लैजानु हुन्थ्यो ।
संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा उहाँको अतुलनीय योगदान रहेको कुरा हामिले कहिल्यै बिर्सनु हुँदैन । उहाँ शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल हुनुहुन्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहि रहनेछ ।
हिजोसम्म पनि मुलुकका निम्ति उहाँको भूमिका सशक्त थियो । उहाँको निधनले देशलाई ठुलो क्षति भएको छ । मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको छ । राष्ट्र र राष्ट्रियताको पक्षमा उहाँले पुर्याएको योगदानलाई हामीले कहिल्यै बिर्सने छैनौं ।
फेरि पनि भावपूर्ण श्रद्धाञ्जली आदरणीय नेता सुवास नेम्वाङ ज्यू ।