काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताउनुभएको थियो । पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिनुभयो । उहाँले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धि ऐन अनुसार सो दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर, कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दिइरहने पनि दोहोर्याउनु भयो ।