काठमाडौं- नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हाल देशभर संक्रमितको संख्या २५ हजार ६१५ जना पुगेको छ।
इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १५ जना पुगेको छ। इडिसिडीको विवरण हेर्दा कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या निरन्तर बढेको छ। अघिल्लो हप्ता सम्म १९ हजार ५३ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमितको संख्या बढेर १९ हजार ७७५ जना पुगेको छ।
यस्तै , बाग्मती प्रदेशमा पनि संक्रमितको संख्या बढेर ३३३९ जना पुगेको छ। यस्तै, जिल्ला तहमा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ। यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन्।
मोरङमा हालसम्म २२५५ जना संक्रमित रहेका छन्। झापामा १३६७ जना, धादिङमा २१९७ जना र यस वर्ष सबैभन्दा धेरै डेंगु संक्रमण फैलिएको सुनसरीमा १४ हजार ९११ संक्रमित संख्या पुगेको छ। यो वर्ष सुनसरीको धरानमा डेंगुले महामारीकै रूप लिएको देखिन्छ। संक्रमणको दर हेर्दा यस वर्ष भेटिएका सबैभन्दा धेरै ५८ प्रतिशत संक्रमित सुनसरीमा रहेका छन्।
कुनै पनि जिल्लामा ५ सयभन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको रेड 'जोन' मा रहेको मानिन्छ।
काठमाडौंमा पनि हाल ४ सय ६५ जना डेगुका संक्रमित रहेका छन्। यस्तै ललिपुर र भक्तपुरमा क्रमश १८५ र १७३ जना संक्रमित रहेका छन्।
इडिसिडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका थिए। नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ।
इडिसीले यसअघि नै डेंगु संक्रमण असारदेखि बढ्दै गएर भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिसकेको छ।
अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो। त्यो बेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।
गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाइमा ६ हजार ६९ जना संक्रमित भएका छन्।