विराटनगर- विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ।
जसपा पार्टीका मोरङ अध्यक्ष एवं कोसी प्रदेशका उपाध्यक्ष राजकुमार यादवमाथि महानगर प्रहरीबाट नराम्रो व्यवहार र हातपात गरेको दाबी गर्दै जसपा पार्टि र विराटनगर महानगरबीच विवाद सिर्जना भएको थियो ।
उक्त विवाद उत्कर्षमा पुग्न लागेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आईतबार वार्ताले दुई बुँदे सहमति गरेको हो। दुवै पक्षले आआफ्नो प्रतिष्ठाको विषय बनाएका बेला आवश्यक छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने सहमति भएको हो। वार्तामा प्रमुख कोइरालाले असोज २ गतेभित्र आवश्यक छानबिन गरेर दोषीमाथि कडा कारबाही भएको विज्ञप्ति जारी गर्ने सहमति गरेको जसपाले जनाएको छ।
जसपा र विराटनगर महानगरपालिकाबीच भएको वार्तामा सहमति भएअनुसार असोज २ गतेभित्र बर्खास्त गर्ने सहमति भएको जसपा नेता राजकुमार यादवले बताए।