काठमाडौँ- राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
उनले मृत्यु भएका नवीन राईसँगको पुरानो दुस्मनीको बदला लिन सो घटना भएको खुलेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
बोल्न नसक्ने उनलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिईबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।