काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नु भएका प्रधानमन्त्री दाहालले राष्ट्रसंघको कार्यालयमा महासचिव गुटेरेससंग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, नेपाली शान्ति सेनाको भूमिका, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
गत शनिबार साँझ न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाल हिजो त्यहाँ पुगेलगत्तै महासचिव गुटेरससंग भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राष्ट्रसंघीय राजनीति तथा शान्ति स्थापना मामिला सम्बन्धि उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि आगामी शुक्रबार न्युयोर्कबाट सीधै चीन भ्रमणमा जाने कार्यक्रम छ ।