काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताए।
उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए।
उनले सांसदहरूलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए।
उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो। तपाईँहरूले सफलताको भोक पनि राख्नुस्। परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरू तनावमा रहने गर्दछन्। म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ। अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्। सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ। काम गर्ने हो तर फलको आश नगर्ने हो। कर्म इमान्दारिताका साथ गर्नुपर्छ।’
महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे।