काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।
मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गठन हुँदा भएको दलहरूबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए।
उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टि समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए। उनले पार्टीभित्र काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आए पनि व्यक्तिगत कुराभन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए।
उनले भने, ‘डेमोक्रेसीको विशेषता सबै खुला रूपमा हुन्छ। गठबन्धन हुँदा जे समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ। लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन। केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ।’
नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए।