काठमाडौं- फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् ।
यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् ।
ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनले भने, ‘व्यक्तिको विरोध गरेको होइन, स्थानीय सरकारसँग जवाफ मागेका हौं । युवाले नेतृत्व गरेको सरकारले पहिलाभन्दा फरक व्यवहार देखाउनुपर्यो भनेका हौं ।’
‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियानका अभियन्ताहरुले मेयर बालेन शाहसँग सम्वाद गर्न खोजेका थिए । तर उनी सम्वादका लागि तयार नै भएनन् । ‘हिजो सँगै हिँड्नुभएको साथीहरु नै अल्टरनेटिभ पोलिटिक्समा हुनुहन्छ, मेयरको सचिवालयमा हुनुहुन्छ’ ईः भन्छन्, मेयरले भेट्न नचाहेपछि उहाँहरुमार्फत फ्रेमवर्क पनि पठाएका थियौं । त्यसको कुनै रेस्पोन्स आएन ।’
मेयर बालेनले निर्णय गरेपछि गलत नै भएपनि कार्यान्वयन गरिछाड्छु भन्ने हद देखाएको अभियन्ताहरुको बुझाइ छ । इगोमा सेन्टरमा राखेर सरकार चलाउने हो भने न उहाँलाई राम्रो हुन्छ, न हिजो उहाँलाई समर्थन गर्ने हामीहरुलाई राम्रो हुन्छ ।’
त्यसैले फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनबारे ध्यानाकर्षण गराउन महानगरको कार्यालय अगाडि ७७ घण्टा उभिने निर्णय लिएको ईले बताएका छन् ।