काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
आज मङ्गलवार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले देश निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो । सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको पौडेलले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ । उहाँ देश निर्माणका लागि जीवन सर्मपण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता हुनुहुन्थ्यो ।’
पौडेलले प्रतीकसहितको गणेशमान पार्कले उहाँको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताउनुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्रै नभई जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ छ ।
पौडेलले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्क व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताउनुभयो । यो पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न उहाँले आग्रह गर्नुभयो ।