काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताएका छन्।
मंगलवार नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकलाका वस्तुहरू निर्यातका समस्या र समाधान विषयक गोष्ठीमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन्। उनले नेपालबाट विदेशमा निर्यात गर्नसक्ने धेरै वस्तु रहेको भन्दै हस्तकला त्यसको नेतृत्वदायी क्षेत्र बन्नसक्ने सम्भावना रहेको बताए। उनले सरकारले पनि प्राथमिकतामा राखेर उत्पादन वृद्धि गर्नसके निर्यातको नेतृत्व हस्तकला क्षेत्रले गर्ने दाबी गरे।
सचिव मरासिनीले हस्तकला परिवार, किसान, महिला र साना उद्यमीसँग जोडिएको बताए। उनले नेपालीहरू वैदेशिक रोजगारीको लागि भौंतारिएर विदेश गइरहेका वेला गाउँघर र समुदायमा थोरै शिक्षाबाट पनि उद्यमशील बन्नसक्ने क्षेत्र हस्तकला भएको बताए। उनले हस्तकलाका वस्तु उत्पादन गरी विदेश निर्यात गर्नसके मात्रै मुलुक आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको उल्लेख गरे।
उनले सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेको बताए। उनले विदेश जाँदा र नेपालमा विदेशी पाहुना आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको बताए। उनले हस्तकला बनाउने कालिगडको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न नेपाली युवालाई तालिमको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘हस्तकला नेपालको विदेश निर्यात गर्ने नेतृत्वदायी क्षेत्र हुनसक्छ। नेपालले केही मुख्य वस्तुहरू निर्यात गर्नसक्छ। त्यसमध्ये नेतृत्वदायी क्षेत्र हस्तकला बन्नसक्छ। वैदेशिक रोजगारीका लागि भौंतारिएर लाखौं युवा विदेश गइरहेका वेला गाउँघरमा थोरै शिक्षाबाट पनि उद्यमशीलताका साथै आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने सम्भावना छ। हस्तकला बनाउने कालिगडको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सुन्छु। नेपाली युवाहरू २५ हजार तलबका लागि लाखौं रकम बुझाएर अरब जाने नेपालमा कामदार नहुने कमजोरी कसको हो। राज्यको कि व्यवसायीहरूको हो ?’
उनले नेपाली युवाहरू २५ हजार तलबका लागि लाखौं रकम बुझाएर अरब जाने र नेपालमा कामदार नहुने अवस्था रहेको भन्दै यो कमजोरी सरकार र निजी क्षेत्र दुवैको भएको बताए। उनले हस्तकला महासंघको सहकार्यमा कालिगडलाई हस्तकला तालिम दिन सरकार तयार रहेको बताए।