जनकपुर- २१० किलो गाँजासहित जलेश्वरबाट प्रहरीले २ जना पक्राउ गरेको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोलीले जलेश्वर नगरपालिका –१ स्थित महादेव मन्दिर नजिकबाट २१० किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकअपको जाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको हो।
बरामदपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका–७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पिकअपभित्र १४ वटा पोकामा राखिएको गाँजाको चारैतिर मिनरल वाटरको प्याकेटले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।
मकवानपुरबाट लुकाइछिपाइ ल्याइएको र भारतीय सीमा कटाउने योजना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले यसबारे थप अनुसन्धान थालेको छ।