काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ।
कांग्रेसले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समितिको बैठक डाकेको थियो। तर,बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु हुने भएको केन्द्रीय सदस्य उर्मिला नेपालले जानकारी दिइन्।
काठमाडौंमा जारी शिक्षक आन्दालनले गर्दा सवारी व्यवस्थापन अस्तव्यस्त भएकोले समयमा बैठक सुरु हुन नसकेको उनले बताइन्।
‘काठमाडौंमा आन्दोलनले सवारी अस्तव्यस्त बनेको छ। सवारी चल्न सक्ने अवस्था छैन। त्यसैले बैठक अझै एकघण्टापछि (करिब ३ बजे) मात्रै सुरु हुन्छ’,उनले भनिन्। नेताहरू आउने क्रम जारी नै रहेकोले सबै आइसकेपछि बैठक सुरु गर्ने तयारी रहेको उनले सुनाइन्।
बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका कामको समीक्षा गर्ने कार्य तालिका रहेको छ। साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका प्रभावित भएकामा बैठकमा छलफल हुनेछ।
यसअघि नेकपा एकीकृत समाजवादीको आजको लागि बोलाइएको सचिवालय बैठक पनि शिक्षक आन्दोलनको कारण नै स्थगित भएको थियो।